|

प्रिय बन्दै प्रेम

pream pariyar

-नविन कार्की

यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ
देखाउन पो त गाह्रो जीवनमा तिमी छ्यौ…
यतिबेला फिल्म नाइँ नभल्नु ल–२ को यो गीत निकै चर्चामा छ । रेडियो, टेलिभिजन, मोबाइल रङ्टिोन र युट््युबमा घन्किरहेको यो गीतका रचनाकार कृष्णहरि बराल र संगीतकार वसन्त सापकोटा हुन् भने स्वर प्रेम परियारको हो । कृष्णहरि र वसन्त दुवै नेपाली संगीतमा स्थापित नाम हुन् भने प्रेम बिलकुल नयाँ तर, गीतको शब्द र संगीतभन्दा स्वर निकै रुचाइएको छ । प्रेमले गाएको यही फिल्मको अर्को गीत  मर्ने कसैलाई रहर हुँदैन… पनि निकै हिट भइरहेको छ ।
१३ बर्षीय यी फुच्चे गायक प्रेम तीन वर्षअघिसम्म धादिङको मलेखुको सडकमा गीत गाउँदै हिँड्थ े। स्कुलबाट भागीभागी बाटामा भेटेजतिलाई गीत सुनाउँथे । गीत सुनाइसकेपछि सय, पचास रुपियाँ हात पार्थे तर, यो तीन वर्षको बीचमा उनको स्वर विश्वभर रहेका धेरै नेपालीको कानमा गुन्जिसकेको छ । गीत गाउनकै लागि उनी कतार, हङकङ र कोरिया पुगिसकेका छन् । एउटा गरिब परिवारमा जन्मिएका किशोर एकाएक स्टार बनेका छन् ।
मलेखुदेखि काठमाडौँ हुँदै देशविदेश यात्राको गोरेटो त्यत्तिकै कोरिएको होइन । प्रेमको आवाजलाई प्रेम गर्ने सहयोगीकै कारण उनको जीवनमा छोटो समयमा धेरै परिवर्तन देखा प¥यो । भयो के भने, पोखरामा परिचय नामक फिल्मको सुटिङ सकाएर नायक सुशील क्षेत्री र कलाकार शिशिर राणा काठमाडौँ फर्कदै गर्दा मलेखुमा प्रेमलाई भेटे । बच्चैदेखि नेपाली फिल्म हेर्ने प्रेमले सुशीललाई नचिन्ने कुरै भएन । फिल्ममै देखिरहेको हिरो अगाडि भएपछि उनी गीत गाउन किन पछि पर्थे र ? त्यसैले बिनाहिचकिचाहट गीत गाउन थाले तर सुशील र शिशिरले वास्तै गरेनन् । गीत गाएपछि पैसा माग्छ भनेर सुरुमा हामीले खासै वास्ता गरेनौँ । त्यो क्षण सम्झँदै शिशिर भन्छन् तर, गीत गाउँदै गएपछि हामी अवाक भयौँ । त्यति सानो फुच्चेले त्यति मीठो गीत गाएको मैले पहिलो पटक सुनेको हुँ ।
प्रेमको गीत सुनेपछि सुशील र शिशिर कतिसम्म प्रभावित भए भने भोलिपल्टै संगीतकार महेश खड्का र गायक प्रमोद खरेललाई मलेखु बोलाए । प्रेमले प्रमोदको मेरो दिल छ पोखरामा.. बोलको गीत सुनाए । त्यतिबेलै प्रमोदले भनेका थिए, यो फुच्चेले त मैले भन्दा राम्रोसँग गायो ।
महेश पनि प्रेमको फ्यान बने । त्यसपछि उनीहरूलाई लाग्यो, यति मीठो स्वर भएको बच्चालाई काठमाडौँ नै लानुपर्छ ।  त्यसमा पनि शिशिर अझ अग्रसर भए र प्रेमका बाबुआमासँग कुरा गरे । गीत गाएकै भरमा त्यसअगाडि पनि पत्रकार देवप्रकाश त्रिपाठीले प्रेमलाई स्थानीय बोर्डिङ स्कुलमा पढ्ने व्यवस्था मिलाइदिएका रहेछन् । काठमाडौँमा लगेर बोर्डिङ स्कुलमा पढाउने र संगीत सिकाउने भनेपछि उनका बाबुआमाले नाइँ भनेनन् । त्यसको १२(१५ दिनमा उनलाई शिशिरले काठमाडौँ ल्याए र आफ्नै घरमा राख्न थाले । अहिले पनि प्रेम कुपन्डोलस्थित शिशिरकै घरमा छन् ।
कुपन्डोल आइपुग्दा नपुग्दै प्रेमको स्वर युट्युबमा हिट भइसकेको थियो । उनले मलेखुमा गाउँदै गरेको भिडियो खिचेर कसैले युट्युबमा राखिदिएको थियो । युट्युबमा हजारौँले उनको तारिफ गरसिकेका थिए । काठमाडौँ आएपछि उनी गायक अमृत क्षेत्रीको सुरशाला ईन्सिच्यूटमा संगीत सिक्न थाले । सुरशालामै गाएको तुझसे नाराज… बोलको हिन्दी गीतको भिडियो युट््युबमा अपलोड गरेपछि उनी झन चर्चित भए ।
विदेशबाट पनि गाउनका लागि अफर आउन थाल्यो । तर, त्यतिबेला उनी सातदोबाटोस्थित युनाइटेड स्कुलमा कक्षा ३ मा भर्ना भइसकेका थिए । पढाइ छाडेर विदेश जान निकै गाह्रो थियो । पढाइमा कमजोर भएकाले स्कुलले भनेजति बिदा दिँदैनथ्यो । तर, १०(११ वर्षको बच्चालाई विदेशबाट गायनको अफर आउँदा स्कुल अवरोध बन्न चाहेन । युनाइटेड स्कुलकी प्रिन्सिपल सीमा राई भन्छिन् छुटेको कक्षा पछि छुट्टै लिने गरी विदेश जान अनुमति दिन थाल्यौँ, प्रेम कोरिया, हङकङ र कतार पुगे । प्रत्येक देश जाँदा उनले सरदर ७५ हजार रुपियाँ पाए ।
अरूकै गीत गाएर हजारौँको मन जितिरहेका बेला करबि पाँच महिनाअगाडि प्रेमले फिल्म नाइँ नभन्नु ल(२ मा पाश्र्व गायनको अवसर पाए । यो गीत गाउने मौका जुर्नुमा पनि बडो गज्जबको संयोग छ । विकास आचार्य बालसुलभ कथामा आधारित फिल्म निर्माणमा जुटेका थिए । फिल्मको मुख्य कलाकारका निम्ति उनलाई मीठो स्वर भएको बच्चा चाहिएको थियो । उनले दर्जनौँ बच्चाको स्वर सुने । तर, कसैले उनको मन जित्न सकेनन् ।  त्यही बेला कसैले उनलाई युट््युबमा प्रेमको गीत देखाइदियो । तुझसे नाराज… र मलाई यो जिन्दगीले कहाँ पु¥यायो… बोलका प्रेमले गाएका गीत हेरेपछि विकास बिना भोकल टेस्ट उनको स्वर रेकर्ड गर्न तयार भए । युट््युबमा प्रेमको गीत हेरेपछि यति प्रभावित भएँ कि सीधै स्टुडियोमा रेकर्ड गर्न लगाएँ, निर्देशक आचार्य सम्झन्छन् ।
तर, स्टुडियोमा पहिलोपटक गाउँदा प्रेम निकै असहज देखिए । मेरो अगाडि सबै नचिनेका मान्छे थिए । त्यसमाथि टाउकोमा हेडफोन लगाएपछि मुटु थरथर काँप्यो । गाउन सक्दिनँ कि जस्तो लागेको थियो, उनी सम्झन्छन् तर, विकास अंकलले सम्झाएपछि डर भाग्यो । त्यसपछि त मलेखुमा जस्तै खुलेर गाउन थालेँ । गीत रेकर्ड गर्न तीन घन्टा छुट्याइएकामा प्रेमले डेढ घन्टामै काम सकिदिए ।
नाइँ नभन्नु ल २ को गीत रिलिज भएपछि विदेशमा कार्यक्रमका लागि प्रेमलाई निकै अफर आइरहेका छन् । तर, ५ कक्षाको बार्षिक परीक्षा नजिक आइरहेकाले समय मिलाउन गाह्रो भएको छ । यद्यपि, लन्डनको कार्यक्रममा जाने लगभग पक्का भएको छ ।
संगीतकार सापकोटा प्रेमको स्वरलाई गड गिफ्ट नँै मान्छन् ।  स्वरमा यति मिठास लाखौँमा एकको हुने उनको भनाइ छ । उनका अनुसार एउटा गायकमा कम्तीमा तीनवटा गुण हुनुपर्छ, स्पष्ट शब्द उच्चारण, फिलिङ्समा डुबेर गाउने र सुरलाई समात्न सक्ने । भन्छन्, प्रेममा तीनवटै गुण उत्तिकै सशक्त रूपमा छन् । उनी प्रेमलाई सम्भावनाको खानी नै मान्छन् तर, सापकोटाले चुनौती पनि देखेका छन् । प्रेम अहिले १३ वर्षका भए, बिस्तारै उनको स्वर धोद्रो हुँदै जानेछ । त्यतिबेला स्वरमा रहेको मिठास हराउने डर हुन्छ । त्यसैले अभ्यासको निकै खाँचो रहेको सापकोटा सुझाउँछन् । स्वरमा आउने परिवर्तनले पनि उनको भविष्य निर्धारण गर्छ । अहिलेकै मिठासलाई कायम राख्न सक्नुपर्छ, उनको सुझाव छ ।
प्रेमले पनि यो कुरा महसुस गरेका छन् कि स्वर मात्र मीठो भएर नहुँदो रहेछ ।  लामो समय टिक्न एउटा फर्ममा गाउन जान्नु पर्दो रहेछ, प्रेम पछिल्लो अनुभव सुनाउँछन् । त्यसैले म्युजिक क्लास जाँदै छु । अचेल उनले संगीतसँगै पढाइमा पनि ध्यान दिन थालेका छन् ।  शिशिरका अनुसार प्रेम पढाइप्रति गम्भीर हुन थालेका छन् ।
खास गरी विदेशमा कार्यक्रम गरेपछि पढाइप्रति उनको मोह बढेको छ । स्कुलकी प्रिन्सिपल राई पनि पढाइमा प्रेमको लगाव देखेर हर्षित छिन्न । भन्छिन्, सुरु सुरुमा निकै गाह्रो भएको थियो तर अहिले राम्रो पिकअप लिइरहेको छ । पढाइको महत्व बुझ्दै गएकाले पनि परिवर्तन भएको हुन सक्छ । प्रेमलाई स्नातकसम्मको निःशुल्क अध्ययन व्यवस्था गरिएको राईले सुनाइन् ।
प्रेमले पछिल्ला दिनमा रामकृष्ण ढकाल, शिव परियारजस्ता आफ्ना प्रिय गायकलाई प्रत्यक्ष भेटिसकेका छन् । सबै सिनियर गायकले एउटै कुरा भन्छन््, तिमी हामीभन्दा ठूलो गायक बन्नेछौ । धेरैले उनलाई नयाँ रामकृष्ण ढकाल अर्थात, रामकृष्ण ढकाल(२ पनि भन्न थालेका छन् ।
२६ वर्षअघि रामकृष्णलाई काठमाडौँको पुरानो बसपार्क छेउको चियापसलमा टेबल ठोकेर गीत गाइरहेको अवस्थामा भेटेर गोपाल कर्माचार्यले यसै गरी सांगीतिक मोड दिएको यहाँनेर स्मरणीय छ । रामकृष्णको एकल साँझ, आशीर्वाद नामक एल्बम र फिल्म निर्माण गरेका कर्माचार्य उनका गडफाद का रूपमा दरिएका छन् ।
त्यसो त समान पृष्ठभूमि र धेरैजसो रामकृष्णका गीत गाएकै भरमा आफूलाई त्यसरी दाँजेको प्रेमलाई मन पर्दो रहेनछ ।  उहाँ (रामकृष्ण) मेरो बेस्ट सिंगर हो तर मलाई उहाँजस्तो हुनु छैन, केही गम्भीर हुँदै प्रेम भन्छन्, ‘मलाई प्रेम परियार नै हुनु छ ।’

Short URL: http://www.ramechhappost.com/?p=854

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented