|

वार्षिक दस करोडको फूल आयात

काठमाडौँ, १९ चैत । झट्ट सोच्दा रु १० करोड केही होइन भनिएला तर कृषि प्रधानमुलुकले अझै रु १० करोड मूल्य बराबरको फूल आयात गर्छ भन्नुचाहिँ लाजमर्दो विषय हो ।

दीपावली र प्रेमदिवस का दिनहरुमा प्रायः फूलको अभाव हुनेगर्छ । त्यसो त शीर्ष व्यक्तित्वको मरणमा काठमाडौँमा फूलको हाहाकार नभएको पनि होइन । यसअघि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पार्थिव शरीरमा फूल चढाउन नपाउँदा मानिस दुःखी भएका थिए । र, त्यो समय काठमाडौँमा फूलको हाहाकार थियो ।

fuul

स्वदेशी उत्पादनले नधानेपछि आयात हुनु स्वाभाविक हो । तर, निर्यातको प्रचुर सम्भावना भए पनि उत्पादन बढाउन सकिएन भन्नुहुन्छ – कृषि सचिव उत्तमकुमार भट्टराई । यस्तै सकारात्मक सोचाइ राखेर काम गर्ने हो भने एक वर्षभित्र नेपाल फूलमा आत्मनिर्भर हुने फ्लोरीकल्चर एसोसिएसन नेपालका कार्यबाहक अध्यक्ष दिलीप बादेको भनाइ छ ।

प्रत्येक नगरवासीले आ–आफ्नो घरमा अनिवार्य पाँच गमलामा तथा प्रत्येक नगरपालिकाले सम्भावना भएका सडकमा फूलखेती गर्ने हो भने अर्को साल नेपाल फूलमा आत्मनिर्भर हुन्छ ।

“विदेशमा यो परम्परा छ । तर नेपालमा यस प्रकारको योजना लागु भएको छैन,” बादेले भन्नुभयो । यस्तै माइतीघर मण्डलादेखि कोटेश्वरसम्मको सडकबीचको जग्गामा व्यावसायिक फूलखेती गर्ने हो भने करोडौँ रुपैयाँको गुलाफ फुलाउन सकिने पुष्प व्यवसायी विश्वमणि पोखरेल बताउनुहुन्छ ।

नेपालको भारतसँगको व्यापार घाटा झन्डै रु छ खर्ब छ । “कृषि उत्पादनमा आत्मनिर्भर हुने हो भने करिब ३३ प्रतिशत अर्थात् रु दुई अर्ब व्यापार घाटा कम गर्न सकिन्छ” भन्नुहुन्छ कृषि मन्त्रालयका सहसचिव सुरज पोखरेल ।

खेतबारीका आली, कान्ला तथा सामान्य खेर गइरहेको बाँझो जमिनमा सहजै फूलखेती गर्न सकिन्छ । यहाँ २०४९ सालपछि व्यावसायिक फूलखेती गर्न थालेको इतिहास छ । नेपालको पुरानो फूलखेती गोदावरीस्थित एभरग्रिन नर्सरी हो ।

फूलखेतीले व्यावसायिकता हासिल गरेको करिब २३ वर्ष पुगेको छ । माग वार्षिक २० प्रतिशत छ । मुलुकमा फूलको माग बढ्दै गएअनुसार परनिर्भरता भने शून्यमा झर्न सकेको छैन । जन्म, मृत्यु तथा पूजापाठ गर्न पुष्प चाहिन्छ । तर सोही पुष्पसमेत नेपालीले आफ्ना लागि पर्याप्त मात्रामा उत्पादन गर्न नसक्दा आयातमा निर्भर हुनुपरेको व्यावसायिक तथा व्यापार आयोजना ९प्याक्टका० आयोजना निर्देशक डा इन्द्रकान्त झा बताउनहुन्छ ।

फूलको आयात भारत, थाइल्यान्ड, फ्रान्स, बेलायत, जापान, नामिबिया, इटालीलगायतका मुलुकबाट भइरहेको छ । यस वर्ष गुलाफलगायत अन्य फूल गरी रु १० करोडको आयात भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका महासचिव मीनबहादुर तामाङले जानकारी दिनुभयो ।

बजारमा फूलको माग बढेको बढ्यै छ । आवश्यकताअनुसारको उत्पादन दिन सकिएको छैन । तामाङ भन्नुहुन्छ – “नेदरल्यान्ड, हल्यान्ड, थाइल्यान्ड, अमेरिकालगायतका देशमा गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कट फ्लावरको माग दैनिक बढेको छ ।”

“युरोपका झन्डै १२ मुलुकमा नेपाली कट फ्लावर निर्यात गर्न सकिन्छ,” सनराइज एग्रो टेक सेन्टरका मालिक विश्वमणि पोखरेलले भन्नुभयो ।

सरकारले कृषि क्षेत्रमा अनुदान बढाएको छ । बजार छ, उत्पादन छैन । झन्डै रु पाँच अर्बको लगानी रहेको पुष्प व्यवसायमा हाल ४० हजार मानिस प्रत्यक्ष संलग्न छन् । एक सय ४० हेक्टरमा फूलको खेती भइरहेको छ ।

वार्षिक रु एक अर्ब २७ करोड ७५ लाखको कारोबार हुने पुष्प व्यवसायबाट हाल ४० हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार पाएका छन् । अडतिस जिल्लामा ६७५ फार्मले विभिन्न जातका फूलखेती गरिरहेका छन्, तर पनि मागअनुसारको आपूर्ति हुन सकेको छैन ।

प्रचुर सम्भावना बोकेको पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति, २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको छ । सरकारले आव २०७१÷७२ देखि पुष्प व्यवसाय प्रवद्र्धनका लागि रु एक करोड बजेट विनियोजनसमेत गरेको छ ।

Short URL: http://www.ramechhappost.com/?p=1859

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented