|

महाविपत्तिले ल्याएको नोक्सानीपछिको दायित्व

रमेशकुमार बस्नेत
गत वैशाख १२,१३ र २९ गतेको महाभूकम्पले नेपाल र नेपाली जनतालाई क्षतविक्षत मात्र पारेको छैन, फाटेको जमिन, भत्केका घर र मानव क्षति गम्भीर घाइते, अपाङ्ग, जनधन, पशुपंक्षीको सर्वनाश मात्र गरेन निरन्तरको पराकम्पनले बाँकी रहेका मानवहरूमा त्रासदीको बास गराइरहेको छ । जे हुनु थियो, त्यो त भैसकेको छ । अब बाँकी जीवन ढुक्कसँग विताउने अवस्था समेत रहेन । यतिबेला कहाँ के हुने जस्तो त्रासदीले मनोवैज्ञानिक समस्या खडा गरेको छ । आम मानिसहरू खुल्ला चौरमा रात काटिरहेका छन् । भएको सर्वश्व स्वाहा भैसकेको छ । बाँकीको कुनै भर छैन । सिंगो देश महाविपत्तिमा अल्झीरहेछ । भूकम्पले क्षतविक्षत भएको जमिन चर्केका घरहरूको त्रास, सुख्खा पहिरो र अब चाँडै शुरु हुने मनसुनले ल्याउने अर्कोखाले विपत्तिको आंकलन हुन नसक्दै बारम्बारका कम्पनले नेपाली जनजीवन भयावह बन्न पुगेको छ । मानौं यो देशमा सायद यस्तो त्रासदी न हिजो थियो, नत आउने दिनमा नै हुनेछ । अहिलेको विपत्ति देख्ने, भोग्ने पुस्ताले अबका दिनमा विरलै भोग्ने छन् । जे होस् सिंगो देश यसबेला भयावह मात्र छैन, भविष्यप्रति समेत आशावादी हुन सकेको छैन । यो त भयो प्राकृतिक महाविपत्ति । त्यो भन्दा ठूलो विपत्ति उद्दार, राहत र पुननिर्माणमा देखिन थालेको छ । जुन मानव निर्मित समस्या झनै चर्को छ । यसको निराकरणमा हामी किन विवेकशील हुन सकेनौं ? किन मानवीयता विर्सन पुग्यौं । किन हाम्रो नियति सफा हुन सकेन । यी यक्ष प्रश्नहरू हाम्रो सामू झनै गम्भीर बनेको छ ।
प्राकृतिक विपत्ति मानिसको नियन्त्रणमा थिएन । जसको जे जस्तो अवस्थाको पनि सामना गर्नै पर्छ । विकल्प छैन । विडम्वना मानव निर्मित समस्याका यथोचित हल गर्न नसक्नु हाम्रो मानवीयतामा नै खोट देखियो । भूकम्पपछि यथोचित गर्नुपर्ने कार्य दायित्वबाट हाम्रो देशका सबै पक्षहरू राम्रैसँग चुकेको हामी कसैबाट लुक्न सकेको छैन । यहाँ कसैको आलोचना होइन, समग्र नेपाल र नेपाली प्रवृत्तिको चर्चा गर्न खोजिएको छ । जसलाई नसुधारेसम्म यो देश कहिल्यै बन्ने छैन । यो ठोकुवा गर्न सकिन्छ । दसहजारको मानवीय क्षति, बीसौं हजार घाइते, पाँच लाख घरहरू ध्वस्त मूल्यविहिन सम्पदाको नष्ट, वेहिसाव पशुधनको विनाश गराउने महाभूकम्पका बारम्बारको पराकम्पनले आतंकित मनोदशापछि बाँकी रहेकाहरूले संयम र धैयताका साथ प्राकृतिक विपत्तिको सामना गर्नुको विकल्प छैन । त्यो गर्नै पर्छ । भूकम्पपछिका दृश्यहरूमा हामीले गरेका व्यवहार देखेर हामी नेपाली भन्न पनि लाजमर्दो स्थिति देखिनु सबैभन्दा दुःखद् छ ।
यस महाविपत्तिपछिको सबैभन्दा ठूलो दायित्व सरकार नामको प्राणीको हुने थियो । दुर्भाग्य सरकार भएर पनि भएको आभास हुन सकेन । रोगी र ढोंगीहरूको बाहुल्यता भएको यो सरकार भूकम्प गएको सात घण्टासम्म रमिते बन्यो । एउटा क्याविनेट बैठक सम्म राख्न सकेन । आफ्ना संयन्त्र ठीक बनाउन सकेन । अरु त गरेन गरेन भूकम्प गएको तीन घण्टा नवित्दै बाह्य देशका सेनाहरूले अन्तर्राष्ट्रिय विमानस्थल ‘कब्जा’ गरीसक्दा समेत आफ्नो उपस्थिति देखाउन नसक्नुले यो देशको सरकार छ भन्न पनि लाज लाग्नुपर्ने थियो । हुन त शरम नभएपछि कस्को के लाग्छ हामीले त्यही व्यहो¥यौं । त्यतिमात्र होइन सरकार मातहतका राज्यका निकाय समेत निमम्बा सावित भए आ–आफ्नो स्थान लिन सकेनन् । महाविपत्तिको यस दुःखद घडीमा सबैभन्दा चनाखो रहनु पर्ने निकाय सबै स्तव्भ बन्न पुग्नुले हाम्रो राष्ट्रियतामाथि नै गम्भीर प्रकारका चुनौती खडा हुन पुग्यो । यो हाम्रो सबै प्रकारको क्षति भन्दा महंगो सावित हुन पुग्यो ।
जसोतसो लाजगाल उद्दारतिर हात बढाइएता पनि दुर्गम गाउँमा दुइ सातासम्म राज्यको उपस्थिति देखिन सकेन । त्यो अर्को लाचारी थियो । भूकम्पले के कति मानवीय, भौतिक क्षति भयो, त्यसको वास्तविक तथ्यांक सायद अब कहिल्यै आउने छैन । किनकि कयौं मानिस वेपत्ताको सुचीमा पर्दै माटोमा सडिसकेका छन् । उद्दार अब सकिईसकेको छ । उद्दारका नाममा व्यापक प्रचार हुनु, आवश्यक कार्य हुन नसक्नु राज्यको घोर असफलता हामीले भोगी सक्यौं । राहत र उद्दारका नाममा नेपालमा केके भित्रियो राज्य वेखबर जस्तै भयो । त्यसको पनि सामना गरिसक्यौं । भोगीसक्यौं । चर्चा गरिरहनु जरुरी छैन । दोस्रो चरणमा गरिने कार्य राहतको सन्दर्भमा हामी झनै चुक्यौं । आज देशका ग्रामीण भेग स्वयं राजधानीभित्रै पनि पाँच लाख परिवार घरबार बिहिन हुन पुग्दा राज्यले एउटा खुल्ला आकाश ढाक्ने त्रिपाल, टेन्ट समेत तीन साता वितिसक्दा समेत दिन सकेन । पीडित नेपाली जनतालाई पुग्ने भन्दा बढी सामान आइसक्दा समेत पीडितले नपाउने अवस्थामा पुग्नु कसको कमजोरी थियो गम्भीर समीक्षा हुनु जरुरी छ । राहतका नाममा अनावश्यक बस्तु आउनु, आएको ठाउँमा नपुग्नु, पुगेका सामान पीडितले नपाउनु गम्भीर मानवीय भूल हुन पुगेको छ । सबैलाई नभनौं, कर्यौ मानिस रातदिन खटेका छन् । ज्यान जोखिममा राखेर भिडेका छन् तर यो पनि सत्य हो कि विचौलिया, भ्रष्ट मानसिकता बोकेका शक्ति र सत्ताको आडमा आफैंलाई मजबुत बनाउन चाहने चाटुकारहरूले राम्रा र असल सामान पीडित नभएपनि आफैंले दम्पच बनाउने कुचक्रबाट हामी मुक्त हुन सकेनौं । भूकम्प भुईफुट्टा वर्गको लागि वरदान सावित भएको छ । पीडित खुल्ला आकाशमुनि छ । घर ठाडा हुनेहरूका हरेक घरमा असल र दामी सामान भित्रिएका छन् । सरकारी अधिकारीसँग पहुँच हुनेहरूलाई दसैं आएको छ । केही नहुनेहरूको लागि नत राज्य छ नत दातृ निकाय छ नत संघसंस्था, एनजिओ, आइएनजिओ छ । छ भने केवल प्रचार छ । कसैले एकपटक पाउन सकेका छैनन्, कसैले पाँच पटक पाइसकेका छन् । राज्यको पहुँचमा हुनेहरूले राज्यको साधनस्रोतबाट आफ्नो नाम कमाउनेहरूको कुनै कमी छैन ।  यसपालाको भूकम्पबाट नेपाली शासक वर्ग र उसँग गाँसिएकाहरूको नांगो र भद्दा रूप हेर्न प्रत्येक गाउँ नै काफी छ । यो कुनै शब्द होइन व्यवहारले देखाएको यथार्थ चित्रण हो ।
राज्य र राज्यसँग पहुँचवालाहरूको व्यवहार त ठाडै देखिएको छ नै । अर्को विडम्बना हामी स्वयं नेपाली जनता हैटियनभन्दा पनि गएगुज्रेका देखियौं । जसको घर भत्किएका छैनन्, भत्किएको लेखाउन हतारियौं । जो एकाघरका छौं, अलग धुरी कायम गर्नतिर लाग्यौं । जसको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा सुरक्षित नै छन्, राहतको आशका लागि लाइन लाग्न थाल्यौं । नपाएकोमा गुनासो गर्न लाग्यौं । वास्तविक पीडितलाई देख्न छाडेर आफूमात्र पीडित बनेको दरिद्र मानसिकताको हद नाघ्यौं । यी सबै परिदृश्य देख्दा लाग्थ्यो हामी सम्पत्ति, धन सबै भएर पनि यति दरिद्र र भिखारी किन भयौं ? जसले हाम्रो राष्ट्रिय स्वाभिमान नै धरापमा पा¥यो । हामीले हाम्रा पूर्खाको वीरता, धैर्यता र शालिनता गुमायौं । हामी यति लोभीपापी भयौं कि हामीले हाम्रो मौलिकता गुमायौं । त्यसैले हामीलाई प्रकृतिले झनै दुःख दिनेछ । मानिस जति विवेकवान प्राणी संसारमा अरु कुनै छैन भन्ने कुरा विर्सेर हाम्रो आचरण देखाउन पुग्दा हामी पशुभन्दा पर पुग्यौं । त्यसैकारण हामीमाथि दैवी विपत्ति थोपरिएको त होइन ? सोच्न जरुरी छ ।
यसपटकको प्राकृतिक विपत्तिले समग्र नेपालीको धर्म, संस्कार र मानवीयताले यति स्वार्थी सावित बनाइदिएको छ कि  आफूलाई नेपाली भन्न पनि लाज लाग्ने स्थिति खडा गरिदिएको छ । हुन त मानवीयता भएका मानिस पनि नभएका होइनन् । हाम्रो काम गराईले त्यसलाई छायाँमा पारेको छ । आपत विपदको समयमा पीडितलाई ध्यान दिन सकिएन भने त्यो विपद स्वयं आफूलाई आइलाग्दा पनि हुने त्यही हो । त्यो चाहिँ हामीले विर्सियौं सबैभन्दा चर्को समस्या यही हो । हाम्रो दरिद्रतालाई अरुहरूले कसरी खिसीट्युरी गरे, राहतका नाममा आएका सामानबाट बुझ्न सकिन्छ । दातृ निकाय र मित्रराष्ट्रले दिएका असल सामाग्री पहुँचवालाले भित्रभित्रै गायव गरेर समग्र नेपाली जनतालाई भिखारीको रूपमा व्यवहार गर्न पुग्दा समेत हामीले त्यसलाई अस्वीकार गर्न सकेनौं । आफूलाई आवश्यक नभएपनि जे पायो त्यही लिन हतारियौं । त्यसैले सहयोग गर्नेले वितरण गर्नेले दिएको भन्दै जे पायो त्यही हात नथापौं । कम्तीमा विवेकशील बन्न सिकौं । स्वाभिमानी कायम राख्ने प्रयत्न गरौं । आकाशको फल कहिले झर्छ र खाऔंलाको आशामा नबसौं । चाँड मनसुन सुरु हुँदैछ । त्यसअघि नै आफ्नो अस्थायी बासस्थान बनाऔं । अरुलाई पनि बनाउन सहयोग गरौं । आजको राष्ट्रिय कर्तव्य त्यही हो । यो समस्या समाधान गरेपछि देशमा भएका विकृति र विसंगति र भ्रष्ट मानसिकताका विरुद्ध सशक्त ढंगले अघि बढौं । नेपाल र नेपाली जनताको सौर्य दुनियाँका सामू जतिसुकै विपत्ति परे पनि हाँसेर सामना गरौं । पूर्खाको विडो थामौं ।
महाविपत्तिको यस घडीमा सबैले गरेका एकएक क्रियाकलापको हिसाव राखौं । मौकामा त्यसको सावा, व्याज चुक्ता गराउन अग्रसर होऔं । हामी हाम्रो समस्या आफैं समाधान गर्न लागौं । नसक्नेलाई मद्दत गरौं यो राज्यका ठेकेदार, हकवाला पहुँचवाला र तिनले गरेका व्यवहारको उचित हिसावकिताव समयले गर्नेछ । हाललाई सुरक्षित बसोबासको अल्पकालीन व्यवस्थापनमा धैर्यतापूर्वक जुटौं । महाविपत्तिको मिलेर सामना गरौं । हामी सबैलाई यही साहस, धैर्यता र संयमता मिलोस् । आगे देखा जायगा !

Short URL: http://www.ramechhappost.com/?p=1291

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented