|

मोदीको सम्बोधनबारे प्रारम्भिक विवेचना

युवराज चौलागाई
साउन १८ गते आइतबारबाट नेपालको भ्रमण शुरु गरेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अपरान्ह पौने पाँच बजेबाट करिव चालीस मिनेट नेपालको व्यबस्थापिका संसदलाई सम्बोधन भाषण गरे । १७ वर्षपछि भारतको यो तहको नेताले नेपालमा पाइला टेकेर सदनलाई सम्बोधन गरेको कुरा निश्चय नै ऐतिहासिक महत्वको परिघटना हो । प्रधानमन्त्री मोदीको यस भ्रमणको समग्रमा समीक्षा तथा बिश्लेषण हुँदै जाने नै छ तर यस संक्षिप्त आलेखमा मोदीद्धारा व्यबस्थापिका संसदमा गरिएको सम्बोधन भाषणको प्रारम्भिक विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।
भावना जित्ने प्रयास :
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भाषणको शुरुवात नेपाली भाषाका केही वाक्यहरुमार्फत गरे । सभामुखले आमन्त्रण गर्ने बित्तिकै रोष्ट्रममा उभिएका मोदीले नेपालीमा भनेः वर्षौं पहिले एक यात्रीका रुपमा म नेपाल आएको थिएं । अहिले प्रधानमन्त्रीका रुपमा फेरि आउन पाएकोमा गौरवान्वित छु । उनले नेपाल र नेपाली जनताको खुलेर प्रशंसा गरे । बक्ताका रुपमा निकै आकर्षक रुपमा प्रस्तुत भएका मोदीले नेपाली जातीको प्रशंसा गर्न निकै शब्दहरु खर्च गरे । भारतीय सेनाका फिल्ड मार्सलले उनलाई एकपटक भने रे यदि कुनै भारतीय सेनाले मलाई मर्नसँग डर लाग्दैन भन्यो भने या त उ झुट बोलिरहेको छ, या उ गोर्खाली हो । उनले सर्वसाधारण जनताको भाषामा गहन राजनीतिक बिषयहरुबारे बोले । पशुपति, गौतम बुद्ध, राजा जनक, हिमालय, ऋषी मुनीहरु आदि अनेक प्रतीकहरु प्रयोग गरेर मोदीले आफूलाई नेपालीपनको नजिक देखाउने प्रयत्न गरे । मोदीले नेपालको सदनमा सरल भाषमा दिएको बक्तव्यले उनको आर्षण कलालाई सहज रुपमा प्रस्तुत ग¥यो ।
सत्य उद्घोषः
प्रधानमन्त्री मोदीले भारतका अधिकारीहरुले उच्चारण गर्न हिच्किचाउने गरेका २ वटा अहम् सत्यहरुलाई सहज रुपले उल्लेख गरे । वास्तवमा उनले ती कुराहरुको पटक पटक चर्चा गरे । पहिलो, उनले बुद्ध नेपालमा जन्मेका थिए भने । बास्तबमा यो विषय सत्य भएर पनि भारतीय पक्षको मिचाहा प्रवृत्तिका कारण त्यही रुपमा स्थापित हुन पाएको थिएन । दोश्रो, मोदीले नेपालको सार्वभौमसत्ताको खुलेर प्रशंसा गर्दै नेपालको निर्णयमा भारत असल साझेदार मात्र हुन चाहेको तर निर्देशक हुन नचाहेको दाबी गरे । उनले बिगत १७ वर्षसम्म नेपालमा भारतका प्रधानमन्त्रीहरुको भ्रमण नहुनुलाई अत्यन्त दुःखद भन्दै अब त्यसो नहुने बाचा गरे ।
सभासदलाई अर्ति :
मोदीले नेपालको संविधान लेखन प्रकृयाबारे केही मिनेट बोले । उनले संविधान लेखनलाई हिजो, आज र भोलिको मिलनबिन्दुको संज्ञा दिंदै संविधान वर्तमानमाथि टेकेर लेखिएता पनि यो वर्तमानको बोझबाट मुक्त हुँदा राम्रो हुने धारणा राखे । नेपालको संविधानसभालाई सिंगो दुनियाँले हेरिरहेको बताउने मोदीले यसको सफलताको कामना पनि गरे । साथै ऋषी मन नभई असल संबिधान बन्न नसक्ने उनको सुझाब रह्यो ।
माओवादीलाई नरम कटाक्ष ः
प्रधानमन्त्री मोदीले संविधानसभा मार्फत नयाँ नेपाल बनाउन युद्ध छाडेर आएका माओवादीहरुलाई प्रशंशा गर्दै हल्का कटाक्ष पनि  गरे ।  उनले पार्टीको नाम नलिइकनै भने हिंसाबाट लोकतन्त्र तर्फको यो बाटो सफल बनोस । युद्धबाट कुनै परिवर्तन नहुने भावसहित मोदिले युद्ध छोडी बुद्ध अंगालेको भनेर माओवादीलाई लक्षित गर्दै आफ्ना राजनीतिक मान्यता व्यक्त गरे  ।
मोदीका नौ बाचा ः
सदनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आफ्नो देशका नौ प्राथमिकता रहेको र त्यसमा सहयोग गर्ने घोषणा गरे । ती यस प्रकार छन् ः
१) नेपाली छात्र छात्राहरुका लागि भारतमा अध्ययन गर्न छात्रवृत्ति बृद्धि गर्ने ।
२) नेपालको हिमालयमा पाइने जडीबुटीहरु संकलन गरी हर्बल मेडिसनि बनाउने र त्यसलाई निर्यात गर्न नेपाललाई सघाउने ।
३) नेपालको पर्यटन विकासमा सहयोग गर्ने । खासगरी पशुपति र लुम्बिनीलाई पर्यटकीय क्षेत्र बनाउन सहयोग गर्ने ।
४) नेपालको राजमार्ग बिस्तार गर्न सहयोग गर्ने । महाकाली नदीमा पुल बनाउने ।
५) नेपाललाई डिजिटाइज्ड गर्न सहयोग गर्ने । प्रविधिको क्षेत्रमा विकासमा योगदान गर्ने ।
६) बिजुलीको सीमापार तार जडान गरी भारततर्फ बिजुली लैजाने ।
७) भारतले चाँडै सार्क स्याटलाइट लन्च गरी नेपाललगायत सार्क मुलुकलाई प्रत्यक्ष लाभको मौका दिने ।
८) पञ्चेश्वर आयोजना एक बर्षभित्रै शुरु गर्ने ।
९) भारतले नेपाललाई १० खर्ब नेपाली नगद रुपैंया सहयोग उपलब्ध गराउने ।
मोदी बक्तव्यको सार :
प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको व्यबस्थापिका संसदमा दिएको बक्तव्यले केही शक्तिशाली सन्देश अवश्यै दिएको छ । पहिलो त उनको वक्तव्यले स्पष्ट रुपमै अब भारतले नेपालबारे पुराना सोच र शैलीमा केही परिवर्तन गर्ने छ भन्ने सन्देश दिएको छ । यसले लामो समयदेखि कर्मचारीतन्त्र र खुफियातन्त्रको माखेसाङ्लोमा जकडिएको नेपाल भारत सम्बन्धले केही नयाँ आयाम पाउने आशा गर्न सकिन्छ । नेपालमा दरिलो राजनैतिक नेतृत्व भएको खण्डमा अब भारत नेपाल दुबै फरक ढंगले अघि बढ्न सक्ने संकेत यहाँ देखिएको छ । ब्रिटिसहरुले भारत छाडेपछिको राजनीतिक पुस्ताबाट पहिलोपटक प्रधानमन्त्री बनेका मोदीको छिमेक नीति सम्राज्यवादी जमानाकै सोचको निरन्तरतामा हुने छैन भन्ने सन्देश सम्म त यो भाषण र भ्रमणले दिएको छ । तर, यो वास्तविक नै हो कि भाषणबाजीमात्र भन्ने कुरा भने आगामी दिनमा परीक्षण हुँदै जाने छ ।
अर्को कुरा मोदीको भाषणमा चलनचल्तीको लोकतन्त्रको भलिभाँती प्रशंसा गरिएको छ । सन्देश यो दिन खोजिएको छ कि नेपाल त्यो प्रेस्क्रिप्सनबाट यताउता हुन पाउंदैन । उनले गरिबी र सीमान्तीकृत वर्गको पक्षमा एक शव्द समेत बोलेका छैनन ्। चिया पसलेबाट देशकै प्रधानमन्त्री बनेका मोदीले यसो गर्नु शोभनीय होइन । नेपाल र विश्वव्यावी रुपमा चलिरहेको सामाजिक न्याय र समावेशीकरण उनको जिब्रोमा आउनै सकेन । यसले उनको वर्ग चरित्र र पक्षधरतालाई राम्ररी नै उजागर गरेको छ ।
भाषणको क्रममा मोदीमा हिन्दुवादको प्रचुर प्रभाव देखियो । वेद, उपनिषद, पुराणहरु, ऋषीमुनी, मन्दिरहरु आदि शव्द अनेक पटक उच्चारण गरेका मोदीजीले आदिवासी वा अल्पसंख्यक जाती वा संस्कृतिलाई एकपटक पनि चर्चा गरेनन् । मोदीमा नेपालको उर्जा क्षेत्रबारे असीम लगाव देखियो । उनले संघीयता जस्तो विषयलाई पनि शंसयपूर्वक हेर्न खोजेको देखियो । भाषणमा उनले भने संविधाने विभाजन गर्ने होइन, बाँध्ने हो । यसलाई उनले अन्य जाति वा संस्कृतिप्रति गरेको कटाक्षका रुपमा समेत अथ्र्याइयो । त्यसैगरी मोदीमा शक्ति राष्ट्रको थोरबहुत अहम् पनि देखियो । भाषणका क्रममा उनले छिमेकीहरुलाई छोटे पडोसि भन्ने शव्द प्रयोग गरे । यसले उनको अर्को राष्ट्र भन्दा हामी धेरै शक्तिशाली छौं भन्ने अहं व्यक्त भएको अर्थ लगाउन सकिन्छ । नेपाल भारतबीचमा रहेका कयौं समस्या मध्ये एउटाको पनि उनले चर्चा गरेनन् ।
अन्त्यमाः
समग्रमा भारतका हालै निर्वाचित प्रधानमन्त्रीको हैसियतमा मोदीको भ्रमणले नेपाल र सिंगो क्षेत्रीय स्तरमा एक सशक्त सन्देश दिएको छ । त्यो सन्देश रुपमा सकारात्मक नै देखिन्छ तर सारमा त्यसका बारेमा अनेक आशंकाहरु गर्नुपर्ने अबस्था देखिन्छ । सशक्त राजनैति नेतृत्वका बलमा भारतसँग यो झैं उच्च स्तरको सम्बन्धले विश्वास सहितको निरन्तरता पाएमा नेपाल भारत सम्बन्धले यो भ्रमण पछि क्रमभंगता हासिल गर्न सक्छ ।

Short URL: http://www.ramechhappost.com/?p=1194

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented