|

नारी स्तम्भलाई फर्केर हेर्दा

kalyani

कल्याणी पाठक

ठीक एक वर्ष पहिले अर्थात आजकै दिनबाट यस साप्ताहिकमा विशेष गरी महिलाका सवालहरु नजिक रहेर मैले कलम चलाउन सुरु गरेको थिएँ । यस साप्ताहिकका प्रधान सम्पादक विदुर ढुङ्गेलले प्रोत्साहन गर्दै विशेष गरी महिलाका सवालहरुमा सम्बन्धित रहेर लेखिएको सामग्रीलाई  साप्ताहिकमा प्रवाह गर्ने उचित वातावरण तय गरेर सहयोग गर्नु भएकाले नै मैले देखेका, सुनेका र भोगेका यथार्थहरुलाई वर्षदिनसम्म शब्दमार्फत तपाइँसम्म प्रवाह गर्ने अवसर पाएको हुँ । महिला विशेष सवाललाई नियमित स्थान उपलब्ध गराएर रामेछाप पोष्ट साप्ताहिकले नारी मैत्री वातावरण सृजनाका लागि गरिरहेको पहलप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यो सहयोग निरन्तर रहने अपेक्षा गरेको छु । संयोग नै भन्नु पर्छ यस साप्ताहिकमा गत वर्ष छापिएको बनावटी सुन्दरता आफैँप्रतिको छल शीर्षकको लेख यस साप्ताहिकको जन्मदिनमै परेको थियो ।
त्यही पहिलो लेख पढेर केही पाठकहरुले दिएको हौसला र प्रतिक्रियास्वरुप मैले नारी स्तम्भकै रुपमा लेखनलाई निरन्तरता दिदै आएको आज एक वर्ष पूरा भएको छ । गत साल  यस साप्ताहिकले कुनै हलमा जन्मोत्सव मनाइरहँदा जन्मिन पुगेको यो नारी स्तम्भले पनि आज एक वर्ष पार गरेको छ । यस विचमा धेरै आरोह अवरोहका बीच रहेर धेरै शीर्षकमा धेरै यथार्थहरुको बयान गरियो । धेरै अनुभवहरु यसै स्तम्भमार्फत बाँड्ने कोषिस गरेँ र पर्दा भित्र र बाहिरका महिला हिंसालाई तपाइँसामु पोख्ने जमर्काे पनि नगरेको होइन । भलै परिपक्व भैनसकेको  बौद्धिकता र अन्य प्राविधिक कठिनाइका बिच निरन्तर एउटै कलमबाट सिर्जिएका सृजनाहरु कति स्तरीय र पठनीय भए वा भएनन् , तथापी यस स्तम्भका केही नियमित पाठकले दिनु भएको उत्साहप्रद प्रतिक्रियाले यो कलमलाई निरन्तर उर्जा प्रदान गरिरह्यो । र आज पनि तपाइँको यही साथ र हौसलाको अनुभूति सहर्ष स्वीकार गर्दै यो कलमले अझ जिम्मेवारी थपिएको बोध गरेको  जनाउन चाहन्छु  ।
यो एक वर्षको अवधिमा नारी स्तम्भमा लेखिएका केही सामग्रीहरु तपाइँमाझ चर्चाको माध्यम बनेको थाहा पाउँदा मलाई उर्जा प्राप्त भएको छ । तपाइँबाटै प्राप्त पे्ररणा र सुझावकै कारण समाजमा महिलालाई हेर्ने दृष्टिकोण परिवर्तनका लागि केही लेख्न सकेको अनुभूत भइरहेको छ । मलाई थाहा छ, मेरो लेखाई सामाजिक अन्धविश्वास, विकृति र विभेदलाई अहिले नै चिर्न समर्थ छैन, खाली चेतनास्तर सुधारका लागि एउटा इँटा थप्ने प्रयास मात्र हो । यही प्रयास स्वरुप नै “विवाह बन्धन की सहयात्रा ?, भ्रस्ट्रचारी श्रीमान्, छोरी पनि श्राद्ध गर, लेखाइमा सिमित महिला आरक्षित सिट, के दुवैले बोक्छन् यो परिचयपत्र” जस्ता सामग्रीहरुलाई वर्ष दिनसम्म निरन्तरता दिन कलमलाई क्रियाशिल राखेको हुँ ।
हुन त वर्ष दिनसम्म एउटै विषयमा बाँधिएर कलम चलाइरहने कुरा चुनौतिपुर्ण थियो । तथापी तपाइँ पाठकले दिनुभएको हौसला र प्रेरणाकाबीच मैले ठूलो कठिनाइ महशुस गर्नु परेन । साप्ताहिक परिवारले पनि कहिल्यै यस सामग्रीका लागि स्थान उपलब्ध गराउन कन्जुस्याइँ गरेन । यसको लागि पाठक वर्ग र साप्ताहिक परिवारप्रति कलमी आभार प्रकट गर्दछु । साथै मैले पनि वर्ष दिनसम्म लेख्दा धेरै बुझ्ने, सोच्ने र नारी यथार्थलाई नियाल्ने मौका पाएको छु । जसले मेरो चेतनास्तरमा एउटा इँटा थप्न सहयोग गरेको छ भने मेरो कलमले अझ सक्रिय हुने अवसर पाएको छ । मलाई विश्वास छ, तपाइँहरुले प्रत्येक साता यस साप्ताहिकको नारी स्तम्भमा छापीएका सामग्री अध्ययन गरेर मलाई दिदै आउनु भएको प्रतिक्रिया र सुझावले मेरो चेतना र बौद्धिकताको स्तरमा अझ परिपक्वता कायम गर्न सहयोग गर्नेछ । सृष्टिका सर्वश्रेष्ठ प्राणी वर्गका नारीलाई दोस्रो दर्जामा राखेर तौलिन बानी परेको समाजका हर पक्ष उजागरका लागि मेरो कलम र तपाइँ सदैव सजग रहनेछ । आगामी दिनमा पनि हाम्रो र राम्रो समाजका पक्षमा हाम्रो सोच र विचार एक ढिक्का गराउन मेरो कलम लागि पर्नेछ भन्ने संकल्प गर्दै यस स्तम्भका सम्पूर्ण पाठकप्रति आभार प्रकट गर्दछु । साथै देखेका, भोगेका र सुनेका यथार्थ प्रस्तुत गर्दा कोही कसैमा नकारात्मक असर पर्न गएको भए त्यसलाई संयोगको रुपमा लिन आग्रह गर्दै सामाजिक चेतनास्तर सुधारमा एक हुन आग्रह गर्दछु ।

Short URL: http://www.ramechhappost.com/?p=1180

Leave a Reply

120x600 ad code [Inner pages]

Recently Commented