डेढ किलो सुन र नगद सहित सात जना पक्राउ
काठमाडौं, १४ वैशाख । अवैध सुन कारोवार गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डेढ किलो सुन र एक करोड नगद रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको हो । उनीहरूलाइ काठमाडौंको इन्द्रचोकबाट बिहीबार साँझ पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३, टाँटेका ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापाको बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारतको महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका छन् । उनीहरुको साथबाट एक किलोग्राम ७६८ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ । सुनको अवैध कारोबार गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।